Monday, May 12, 2008

२३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा

कम्बोडियामा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । जर्मन प्रशिक्ष्ाक थोमस फ्लाथको नेतृत्वमा सहायक प्रशिक्षक बालगोपाल महर्जन र उपेन्द्रमान सिंहको टोलीले खेलाडी छनोट गरेको हो । छनोट भएका खेलाडीमा विकास मल्ल, रितेश थापा, किरण चेम्जोङ, राकेश श्रेष्ठ, चुनबहादुर थापा, अन्जन केसी, विराज महर्जन, लोकबन्धु गुरुङ, प्रदीप महर्जन, विजय गुरुङ, पर्वत पाण्डे, जुमानु राई, नीराजन रायमाझी, विसन गौचन, सागर थापा, सन्दीप राई र विकाससिंह क्षेत्री रहेका छन् । यसैगरी, छनोट भएका अन्य खेलाडीमा नीराजन खड्का, राजु तामाङ, सुमन सुवेदी, दीपक भुसाल, अनन्त थापा र भरत खवास छन् । टोलीको कप्तान भने हालसम्म तोकिएको छैन । 'अबको अभ्यास खेल र प्रशिक्षणबाट टोलीले नै कप्तान तोक्नेछ,' प्रशिक्षक थोमस फ्लाथले भने । तीन साताको प्रशिक्षणबाट टोली सन्तुलित बनाउने प्रयास भएको र त्यसअनुसार नै खेलाडी छनोट गरिएको पनि उनले बताए । 'खेलाडी छनोट गर्न कठिन भयो,' फ्लाथले भने, 'यद्यपि भविष्यका लागि समेत उपयुक्त हुनेगरी युवा र पोटेन्सियल खेलाडीलाई छनोट गरियो ।' खेलाडी छनोटका लागि विभिन्न आधार तय गरिएको पनि उनले जानकारी दिए । तीन साताअघि नेपाल आएका फ्लाथले खेलाडीलाई दैनिक दुई समय प्राविधिक र शारीरिक प्रशिक्षण संयुक्त रूपमै दिएका थिए । उनले कम्बोडियामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्नेसमेत बताए । 'अन्तर्राष्ट्रिय हेराइमा नेपाली शैलीको खेल यो टोलीले प्रदर्शन गर्नेछ,' फ्लाथले भने, 'आक्रामक रूपमा प्रस्तुत हुनु नेपाली शैली हो ।' नेपाली टोली १५ मेमा बैंकक जानेछ । बैंककमा दुई अभ्यास खेलपछि २१ तारिखमा कम्बोडियातर्फ लाग्नेछ । 'कुन टोलीसँग अभ्यास खेल खेल्ने हो टुंगो भएको छैन,' अखिल नेपाल फुटबल संघका प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए ।

Friday, April 4, 2008

६ सातासम्म फुटबल खेल्न नसक्ने

बार्सिलोनाका ब्राजिली स्ट्राइकर रोनाल्डिन्हो चोटका कारण ६ सातासम्म फुटबल खेल्न नसक्ने भएका छन् । प्रशिक्षणका क्रममा उनलाई चोट लागेको क्लबले बिहीबार जनाएको छ । एक्स-रेपछि उनको दाहिने गोडाको मांशपेशी तन्किएको पाइएको छ । स्पेनिस लिगका पछिल्ल्ाा चार खेल खेल्न नपाएका रोनाल्डिन्हो साथीलाई भेट्नका लागि मात्रै प्रशिक्षणमा सम्मिलित भएका थिए ।

Wednesday, April 2, 2008

फुटबल विवाद मिलाउने प्रयास असफल

आफूले तोकेको समयावधिमा अखिल नेपाल फुटबल संघ -एन्फा) को निर्वाचन नभएपछि क्लबहरूलाई मनाउन लागेको राष्ट्रिय खेलकुद परिषद्को फुटबल विवाद मिलाउने प्रयास असफल भएको छ । नेपाल क्लब संघले राखेको प्रस्ताव एन्फाले नमानेपछि फुटबलको विवाद समाधान नभएको हो । आफैंले दिएको १५ चैतसम्मको समयावधिमा निर्वाचन नभएपछि राष्ट्रिय खेलकुद परिषद्ले बुधबार एन्फा र क्लब संघलाई डाकेर विवाद मिलाउने निरर्थक प्रयास गरेको हो । बारम्बार निर्वाचनका लागि मिति तोक्दै आएको राखेपले पछिल्लोपटक एन्फालाई १५ चैतसम्ममा निर्वाचन सम्पन्न गर्न भनेको थियो । सो अवधिमा एन्फाको निर्वाचन नभएपछि १८ चैतमा क्लब र एन्फालाई वार्तामा बस्न राखेपले अनुरोध गर्‍यो । 'राखेप सदस्यसचिव जीवनराम श्रेष्ठको विशेष आग्रहमा हामी वार्ताका लागि गएका थियौैं,' क्लब संघका इन्द्रमान तुलाधरले भने, 'आज वार्ताका लागि वार्ता मात्र भयो ।' फुटबल समस्या समाधानका लागि क्लब संघले एन्फा अध्यक्ष गणेश थापाको राजीनामा माग फिर्ता लिएका थिए । राजीनामाको माग फिर्ता लिएको क्लब संघले कार्यवाहक अध्यक्ष अन्यलाई बनाउनुपर्ने, एन्फा कार्य सञ्चालनका लागि स्टेरियङ कमिटी बनाउनुपर्नेलगायतका माग प्रस्तुत गरेको थियो । साथै, अन्तर्राष्ट्रिय सम्बन्धको जिम्मेवारी अध्यक्ष थापालाई नै दिने पनि बताएको थियो । अध्यक्ष थापाको नेतृत्वमा रहेको एन्फा कार्यसमितिले भने सो माग अस्वीकार गरेको थियो । सो बदला हालको २९ सदस्यीय एन्फा कार्यसमितिमा क्लब संघका प्रतिनिधिहरू थपी संख्या बढाउने, विभिन्न समिति र उपसमिति बनाउने, ती समितिको निर्णयअनुसार काम गर्दै जाने प्रस्ताव राखेको थियो । तर, क्लब संंघले सो प्रस्ताव अस्वीकार गरेको थियो । 'एन्फा कार्यसमितिमा बस्नका लागि आन्दोलन गरेको नभए संरचनागत परिवर्तनकै लागि आन्दोलन गरिरहेको' एन्फालाई क्लब संघको जवाफ थियो । 'अब एन्फासँग कुनै पनि हालतमा वार्ता नगर्ने विचार गरेका छौं,' क्लब संघका इन्द्रमान तुलाधरले भने, 'हाल देशकै प्रमुख मुद्दा संविधानसभा रहेकाले सो निर्वाचन लगत्तै एन्फा अध्यक्षको राजीनामासहित पुरानै मागमा फर्केर सर्वपक्षीय निर्वाचनका लागि आन्दोलन गर्नेछौं ।' वार्तामा रहेका क्लब संघका सदस्य कृष्णभक्त मानन्धरले 'राजीनामालगायतका माग फिर्ता लिए पनि एन्फा सकारात्मक नभएको' बताए । 'आन्दोलनमा नै जाने हाम्रो प्रारम्भिक निर्णय भएको छ,' मानन्धरले भने, 'आन्दोलनका कार्यक्रम छलफलबाट निर्णय गर्नेछौं ।'

Tuesday, March 25, 2008

पाकिस्तानलाई पराजित गर्‍यो नेपालले

अपेक्षाकृत फितलो देखिएको पाकिस्तानलाई पराजित गर्दै नेपालले मोफसलमा भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजय हात पारेको छ । मंगलबार पोखरा रंगशालामा भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानविरुद्ध २-१ को जित हात पारेको हो । पाकिस्तानी राष्ट्रिय टिमसँग यसअघि एक-अर्काको भूमिमा तीनपटक प्रतिस्पर्धा गरिसकेको नेपाली राष्ट्रिय टोलीले हासिल गरेको यो चौथो जित हो । जितसँगै नेपाली टोलीले बिहीबार हुने अर्को मैत्रीपूर्ण खेलमा पनि यस्तै परिणाम हात पारे फिफा वरियतामा सुधार हुने संकेत देखिएको छ । एक गोलले पछि परे पनि खेलमा फर्केको नेपाली टोलीको जितमा अनिल गुरुङ र भरत खवासले गोल गरेका थिए । खेलको २० औं मिनेटमा कप्तान इसा खानको गोलमा पाकिस्तानले अग्रता लिएको थियो । पाकिस्तानका अग्ला खेलाडी मघका कासिमले आफ्नो डी एरियानजिकबाट एक्लै अगाडि बढाएको बल नेपाली खेलाडी राकेश श्रेष्ठलाई छलाउँदै इसाको खुट्टामा पुगेपछि गोलमा परिणत भएको थियो । त्यसपछिका अधिकांश समय गोलको खोजीमा रहेको नेपालले खेलको ७६ औं मिनेटमा मात्रै बराबरी गर्न सफल भयो । खेल सुरु भएदेखि नै आक्रामक खेल प्रदर्शन गरेको नेपाली टोलीले कयौं गोलका अवसर गुमायो । यस क्रममा सबैभन्दा धेरै अवसर गुमाउनेमा अनिल र जुमानु राई थिए । अर्कोतर्फ बायाँ रक्षक अन्जन केसी आजको खेलमा पनि प्रभावकारी देखिए र लगातारको आक्रमणमा सहयोग गरिरहे । नेपाललाई खेलमा फर्काउने क्रममा उत्तरार्द्धमा मैदान प्रवेश गरेका नीराजन खड्का र भरत खवासको महत्त्वपूर्ण योगदान रहयो । खड्काले मैदान प्रवेश गरेलगतै प्रतिपक्षीलाई दबाबमा राखे भने पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका खवासले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरे । उनले लामो दूरीबाट गरेको प्रहार पाकिस्तानी गोलरक्षक पर इल्ताफलाई पार गर्दै गोलमा परिणत भएको थियो । सन्तोष साउखलले प्रहार गरेको बल पाकिस्तानी गोलरक्षकको हातमा लागेर फर्केको रिबाउन्ड बललाई खवासले गोलमा परिणत गरेका हुन् । नेपाली टोलीले गोल फर्काएलगत्तै गोलरक्षक इल्ताफलाई परिवर्तन गरेको पाकिस्तानी टिमविरुद्ध खेलको ८६ औं मिनेटमा पुनः नेपालले गोल थप्न सफल भयो । जुमानु राईको पास सदुपयोग गर्दै पोखरेली स्टार अनिल गुरुङले नेपाली टिमका लागि सो गोल गरेका थिए । गुरुङको गोलसँगै रंगशालाको वातावरण उल्लासमय बनेको थियो । रेपmीसँग विवाद गरेको कारण पाकिस्तानी कप्तान इसाले पहेँलो कार्डर् पाए । कार्ड पाउने उनी एक मात्र खेलाडी भए । पूर्वार्द्धमा धेरै अवसर गुमाएको नेपाली टोलीले उत्तरार्द्धमा भने फरक रणनीति बनाई आक्रमणको शृंखला जारी राखेको थियो । प्रत्येक दुई/दुई मिनेटको फरकमा खेलाडी परिवर्तन गरेको नेपाली टोलीले विजय गुरुङको ठाउँमा नीराजन खड्का, राजु तामाङको ठाउँमा विसन गौचन, सन्दीप राईको ठाउँमा सन्तोष साउखल, प्रदीप महर्जनको ठाउँमा भरत खवासलाई मैदानमा उतारेको थियो । नेपाल र पाकिस्तानबीच दोस्रो मैत्रीपूर्ण खेल बिहीबार पुनः पोखरा रंगशालामा हुँदै छ ।

Thursday, March 20, 2008

मैत्रीपूर्ण फुटबलका लागि मूल आयोजक समिति गठन

पर्यटकीय नगरी पोखरामा हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबलका लागि गणेशबहादुर भट्टराईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । भट्टराई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य हुन् । एन्फा कास्की जिल्ला संघको मंगलबार भएको छलफलले सुरक्षा व्यवस्थापन संयोजकमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङ, अर्थसंयोजकमा दिनेश श्रेष्ठ, खेलमैदान व्यवस्थापनतर्फ उपाध्यक्ष खेम गुरुङ रहेको समिति गठन गरेको छ । त्यस्तै प्राविधिकतर्फ वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, मञ्च-व्यवस्थापनतर्फ शिवशंकर रंजित, होटल व्यवस्थपानतर्फ विक्रम थकाली, स्वास्थ्य संयोजकमा रामकृष्ण गोर्खाली, स्वयंसेवक परिचालन संयोजकमा खेम गुरुङ र प्रचार-प्रसारको जिम्मेवारी भने एन्फा कास्कीका सल्लाहकार सुदर्शन रंजितलाई दिइएको छ । पोखरा रंगशालामा १२ र १४ चैतमा दुई मैत्रीपूर्ण खेल हुनेछन् ।